२२औं विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी


काठमाडौं। नेपालका कुल १० खेलाडीले टर्कीमा हुने आइकेएफ २२औं विश्व केम्पो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

सोमबारदेखि टर्कीको अन्टाल्यामा आगामी अप्रिल २६ तारिखसम्म २२औं विश्व केम्पो च्याम्पियनसिपमा हुँदैछ। उक्त च्याम्पियनसिपमा नेपालको तर्फबाट ६ पुरुष र चार महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

नेपाल केम्पो खुकुरी फेडेरेसनको टोली सोमबार च्याम्पियनसिपमा सहभागिता जनाउन टर्की प्रस्थान गरेको छ। फेडेरेसनका अध्यक्ष पाभेल शाहको नेतृत्वमा नेपाली टोली अन्टाल्या प्रस्थान गरेको हो। महिलातर्पm सेमी केम्पो ५० केजी तौलसमूहमा अञ्जना शाही, सेमी केम्पो २२ केजीमा प्रिशा राज्यलक्ष्मी शाह, सेमी केम्पो २५ केजीमा आइरा गौतम र मोनालिशा धामीले सेमी केम्पो ३५ केजीमा प्रतिस्पर्धा गर्नेछन्। अञ्जनाले काता र सेल्फ डिफेन्स तथा इराले कातामा पनि चुनौती प्रस्तुत गर्ने फेडेरेसनका अध्ष्रगा पाभेलले जानकारी दिए।

पुरुष सेमी केम्पोतर्फ सुरेश पराजुलीले ६५ केजी तौलसमूहमा, सुलभ श्रेष्ठले ३० केजीमा र कृदिक्स विक्रम कुँवरले २५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। दिलमान लामाले २५ केजी फुल केम्पो, काता र सेल्फ डिफेन्स विधामा खेल्नेछन्। यमन पाण्डेले ५० केजी तौलसमूहमा फुल केम्पो, सेमी केम्पो, सबमिसन, सेल्फ डिफेन्स र कातामा गरी पाँच विधामा चुनौती प्रस्तुत गर्ने प्रशिक्षकसमेत रहेकी अञ्जना शाहीले जानकारी दिइन्। शिवहरी राईले ५५ केजी तौलसमूहमा सेमी केम्पो र फुल कम्पोमा प्रतिस्पर्धा गर्ने भएका छन्। उनले काता र सबमिसनमा पनि चुनौती प्रस्तुत गर्नेछन्।

बिदाइ कार्यक्रममा अध्यक्ष पाभेल शाहले खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेर देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गरे। ‘हाम्रा खेलाडीहरू कडा मेहनत र समर्पणका साथ तयारीमा जुटेका छन्। उनीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको लागि धेरै पदक ल्याउनेछन् भन्नेमा विश्वस्त छौं,’उनले भने। खेलाडीले पनि राम्रो प्रदर्शन गरेर नेपालको नाम उच्च राख्ने प्रतिबद्धता जनाएका छन्। नेपाल केम्पो खुकुरी फेडेरेसनले पनि सबै खेलाडीले उत्साह र आत्मविश्वासका साथ प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको