काठमाडाैं। सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब झापाको भद्रपुरमा जारी चन्द्रगढी महिला गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
ओखलढुंगाको पदमा स्पोर्टस् क्लबलाई ६–० गोल अन्तरले हराउँदै एपीएफले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो। एपीएफले क्वार्टरफाइनलमा संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो हाफ १–० काे अग्रता बनाएको एपीएफले दोस्रो हाफमा गोलको वर्षा गर्न सफल भयाे। खेलकाे २८औँ मिनेटमा कप्तान अनिता बस्नेतको पासमा रश्मिकुमारी घिसिङले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन्।
४१औँ मिनेटमा घिसिङले नै अर्काे गोल थपिन्। विपक्षी गोलकिपर अगाडि बढेको समयलाई सदुपयोग गर्दै उनले गोल गरेकी थिइन्। ४२औँ मिनेटमा एपिएफको लागि तेस्रो गोल रेनुका नगरकोटीको नाममा रह्यो। रश्मिकुमारी घिसिङको पासमा नगरकोटीले सुन्दर गोल गरिन्।
खेलको ५२औँ मिनेटमा रश्मिले ह्याट्रिक पूरा गरिन्। उनले गरेको कडा प्रहारले पदमा स्पोर्टस् क्लबकी गोलकिपर झरना डुम्राकोटीको हातमा लाग्दै बलले जाली चुम्यो। खेलको ५४औँ मिनेटमा अनिता केसीले अर्काे गोल थपिन्।
पदमा स्पोर्टस्की डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै उनले गरेको प्रहार गोल भएको थियो। ५६औँ मिनेटमा रश्मिले अर्काे गोल थपिन्। डिबक्समा अनमार्क रहेकी उनले वान टचमा गोल गरेकी थिइन्।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी रश्मिकुमारी घिसिङ भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन्। बुधबार हुने क्वार्टरफाइनल खेलमा नेपाल पुलिस फुटबल क्लब र भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ। त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन्।


