काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्ध नेपाल २०० रनमा समेटिएको छ। याेसँगै युएईले जितकाे लागि २०१ रनकाे लक्ष्य पाएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय रनमा अलआउट भयो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको लडाकु इनिङ्स खेले। उनले ९० बलमा ५ चौका र २ छक्का प्रहार गरे। सुरुआतमै शीर्षक्रम धराशायी बनेपछि ऐरीले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए।
कुशल भुर्तेलले २४, बासिर अहमदले २०, करण केसीले २२ तथा सोमपाल कामीले १५ रन जोडे। आसिफ शेख ७, भीम सार्की १०, कप्तान रोहित पौडेल २, आरिफ शेख १५ तथा सन्दीप लामिछाने २ रनमा आउट भए। ललित राजवंशी अविजित रहे। नेपालले अतिरिक्तबाट ८ रन प्राप्त गर्यो।
नेपालको सुरुआत कमजोर रह्यो। ४९ रनमै पाँच विकेट गुमाएको नेपाललाई दीपेन्द्रसिंह ऐरीले उकास्ने प्रयास गरेका थिए। तर अन्त्यतिर लगातार विकेट गुमाउँदा ठूलो योगफल बनाउन सकेन।
यूएईका लागि जुनैद सिद्दिकी र अजय कुमारले समान ३/३ विकेट लिए। खुजाइमा तनवीरले २ तथा हैदर अली र मोहम्मद शहजादले समान १/१ विकेट लिए।


