काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाललेयुएईलाई ३७ रनले पराजित गर्दै शानदार जित निकालेको छ।
नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएई ४८.२ ओभरमा १६३ रनमै अलआउट भयो। नेपालका करन केसीले घातक बलिङ गर्दै ४ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २/२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १/१ विकेट हात पारे।
युएईका लागि हरप्रीत सिंहले सर्वाधिक ३९ रन बनाए। कप्तान मोहम्मद वसीमले ३४ तथा अक्षदीप नाथले ३० रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।
नेपालका बलरहरूले सुरुआतदेखि नै दबाब बनाए। करनले शीर्षक्रम ध्वस्त पार्दा युएई ५ रनमै दुई विकेट गुमाएर संकटमा परेको थियो। त्यसपछि नियमित अन्तरालमा विकेट लिँदै नेपालले खेल आफ्नो नियन्त्रणमा राख्यो।
करनले ९.२ ओभरमा १९ रन खर्चेर ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। सन्दीपले १० ओभरमा २५ रन खर्चेर २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले किफायती बलिङ गर्दै १० ओभरमा ३० रन दिएर १ विकेट लिए।
यो जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोड्दै आत्मविश्वासपूर्ण प्रदर्शन गरेको छ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २०० रन बनाएको थियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको लडाकु इनिङ्स खेले। उनले ९० बलमा ५ चौका र २ छक्का प्रहार गरे। सुरुआतमै शीर्षक्रम धराशायी बनेपछि ऐरीले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए।
कुशल भुर्तेलले २४, बासिर अहमदले २०, करण केसीले २२ तथा सोमपाल कामीले १५ रन जोडे। आसिफ शेख ७, भीम सार्की १०, कप्तान रोहित पौडेल २, आरिफ शेख १५ तथा सन्दीप लामिछाने २ रनमा आउट भए। ललित राजवंशी अविजित रहे। नेपालले अतिरिक्तबाट ८ रन प्राप्त गर्यो।
नेपालको सुरुआत कमजोर रह्यो। ४९ रनमै पाँच विकेट गुमाएको नेपाललाई दीपेन्द्रसिंह ऐरीले उकास्ने प्रयास गरेका थिए। तर अन्त्यतिर लगातार विकेट गुमाउँदा ठूलो योगफल बनाउन सकेन।
यूएईका लागि जुनैद सिद्दिकी र अजय कुमारले समान ३/३ विकेट लिए। खुजाइमा तनवीरले २ तथा हैदर अली र मोहम्मद शहजादले समान १/१ विकेट लिए।


