आर्मीको पहिलो जित, न्यू डायमण्डको लगातार चौथो जित


काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको १०औं संस्करणअन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित दर्ता गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न महिलातर्फको पहिलो खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा ३–० ले पराजित गर्‍यो।

आर्मीले २५–१५, २५–१० र २५–५ को सहज जित निकाल्दै प्रतियोगितामा पहिलो सफलता हात पारेको हो। लगातार पराजय व्यहोरेको सुदूरपश्चिम भने प्रतियोगिताबाट बाहिरिएको छ।

यता, दोस्रो खेलमा न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले विभागीय टोली एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै लगातार चौथो जित दर्ता गरेको छ।

पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २०–२५ ले गुमाए पनि त्यसपछिका दुई सेट २५–१८ र २५–२१ ले जित्दै उत्कृष्ट पुनरागमनसहित खेल आफ्नो पक्षमा पार्‍यो।

चार खेलमा सतप्रतिशत नतिजासहित १२ अंक जोडेको न्यू डायमण्ड शीर्ष स्थानमा कायम छ। समान चार खेल खेलेको एपीएफले दुई जित र दुई हारसहित प्रतिस्पर्धा जारी राखेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको