काठमाडौं। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टोली नेपाल ओमानसँग डीएल मेथडमा १०२ रनले पराजित भएको छ।
बुधबार वर्षाले प्रभावित बनेको खेलमा नेपालले सिरिजमा पहिलो हार व्यहोरेको हो। ओमानले भने पहिलो जित दर्ता गर्यो। पहिलो खेलमा नेपालले युएईलाई ३७ रनले हराएको थियो भने ओमान युएईसँग २५ रनले पराजित भएको थियो।
ओमानले दिएको ३०६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। पुनः खेल सुरु हुन नसकेपछि डीएल मेथडअनुसार नेपाल १०२ रनले पराजित भएको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरिले सर्वाधिक ६० रन बनाए। भिम सार्कीले २८ रन जोडे भने आशिफ शेखले १९ रनको योगदान दिए। आरिफ शेखले १४, रोहित पौडेलले १० रन बनाए। गुल्सन झा १४ तथा सोमपाल कामी २ रनमा अविजित रहे। ओपनर कुशल भुर्तेल १ रनमै एलबीडब्लु आउट भए भने बसिर अहमद पनि १ रनमै पेभेलियन फर्किए।
ओमानका लागि नदिम खानले ३ विकेट लिए। सकिल अहमदले २ विकेट लिए भने मुहम्मद इमरान र वसिम अलीले समान १–१ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनाएको थियो।
ओमानका ओपनर जतिन्दर सिंहले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक १३० रन बनाए। उनले ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गरे। ७३ बलमै १३ चौका र ४ छक्काको मद्दतमा उनले शतक पूरा गरेका थिए।
अशिष ओडेराले ४८ रन जोड्दा आर्यन राजु बिसले ३५ र हमद मिर्जाले ३० रनको योगदान दिए। नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरिले समान २–२ विकेट लिए। सिरिजअन्तर्गत नेपालले अब शुक्रबार युएईसँग तेस्रो खेल खेल्नेछ।


