यूएई ५४ रनले विजयी

काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको १०१औँ खेलमा यूएईले ओमानलाई ५४ रनले पराजित गरेको छ। ४७ ओभरको खेलमा यूएईले प्रस्तुत गरेको ३०९ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा २५४ रनमै अलआउट भयो।

टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाउँदै ३०८ रन बनाएको थियो। यूएईका लागि आर्यांश शर्माले ६१ बलमा ५० रन बनाए भने आदिब उस्मानीले ७८ बलमा ७२ रनको योगदान दिए। हरप्रीत सिंहले ६५ बलमा ७७ रन बनाउँदा मोहम्मद शाहदाद ले ६४ बलमा ७४ रन जोडे। कप्तान मोहम्मद वसीमले छोटो समयमै ४ बलमा ९ रन बनाए।

ओमानका मोहम्मद इमरानले ३ विकेट लिए भने नदिम खानले २ विकेट हात पारे। शकील अहमद र आर्यन बिष्टले समान १–१ विकेट लिए।

३०९ रनको लक्ष्यसहित मैदान उत्रिएको ओमानको सुरुवात कमजोर रह्यो। कप्तान जतिन्दर सिंह ९ रनमै आउट हुँदा आशिष ओडेधरा शून्यमै पवेलियन फर्किए। प्रारम्भिक दबाबपछि हम्माद मिर्जाले ८२ बलमा ८३ रनको संघर्षपूर्ण इनिङ खेले। जितेन रमणान्दीले उत्कृष्ट प्रदर्शन गर्दै ६२ बलमा ९१ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्।

यूएईका लागि जुनैद सिद्दिकीले घातक बलिङ गर्दै ७.५ ओभरमा ६ विकेट लिएर खेलको नायक बने। मोहम्मद शाहदादले २ विकेट लिँदा मोहम्मद जवादुल्लाहले १ विकेट लिए।

यो जितसँगै यूएईले प्रतियोगितामा महत्वपूर्ण २ अंक जोड्दै २४ खेलबाट १४ अंक जोडेको छ। २७ खेलबाट ३१ अंक रहेको ओमान तेस्रो स्थनामा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको