काठमाडौं। इङ्लिस प्रिमियर लिगअन्तर्गत लिड्स युनाइटेडसँग १–१ को बराबरीमा राेकिएपछि टोटनहम हट्सपरलाई रेलिगेसनकाे डर बढेकाे छ।
बराबरीसँगै टोटेनहम जारी लिगमा ३६ खेलबाट ३८ अंकसहित पुछारबाट चौथो स्थानमा रहेको छ। लिड्स युनाइटेड भने ४४ अंकसहित १४औं स्थानमा छ। बर्नली र उल्भ्स यसअघि नै रेलिगेसनमा परिसकेका छन्। अब टोटनहम र वेस्ट ह्याममध्ये एक टिम रेलिगेसनमा पर्नेछ ।
टोटनहमको घरेलु मैदानमा साेमबार राति सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५०औं मिनेटमा माथिस टेलले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए। उनले कर्नरपछि आएको अवसरलाई सदुपयोग गर्दै टाढाबाट गरेको प्रहार सिधै जाली चुमेको थियो।
तर, खेलको ७१औं मिनेटमा भिडियो सहायक रेफ्री (भिएआर) को निर्णयपछि लिड्स युनाइटेडले पेनाल्टी अवसर पायो। ७४औं मिनेटमा डोमिनिक काल्भर्ट–ल्युइनले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए।
त्यसपछि दुवै टोलीले जितका लागि लगातार प्रयास गरे पनि थप गोल निस्कन नसक्दा अंक बाँड्न बाध्य भए।