‘१० के एनवाईएफएन रन’: राजन रोकायाले जिते उपाधि

काठमाडाैं। राष्ट्रिय युवा संघ नेपालको ३७औँ स्थापना दिवसको अवसरमा आयोजित ‘१० के एनवाईएफएन रन’ शुक्रबार काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष माहाराज गुरुङको अध्यक्षतामा र ओलम्पियन बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यमा पार्टी केन्द्रिय कमिटी सचीव द्वय भानुभक्त ढकाल , महेश बस्नेत ,प्रतिनिधि सभा माननीय क्षितिज थेवे सहितको उपस्थितिमा युवामा खेलकुदप्रतिको आकर्षण बढाउने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा देशभरका धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको दौड पुनः सोही स्थानमा आएर समापन गरिएको थियो  प्रतियोगितामा सहभागी धावकहरूले उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गरेका थिए।

प्रतियोगितामा राजन रोकायाले निर्धारित १० किलोमिटर दूरी २९ मिनेट ५६.९ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे। त्यस्तै खड्क बहादुर खड्का ३० मिनेट २६.७ सेकेन्डसहित दोस्रो भए भने मुकेश बहादुर पाल ३१ मिनेट ००.२ सेकेन्डका साथ तेस्रो स्थानमा रहे।

यसैगरी, संजय श्रेष्ठ ३१ मिनेट ०७.४ सेकेन्डका साथ चौथो तथा सुशील शाही ३२ मिनेट ०७.६ सेकेन्डका साथ पाँचौँ स्थान हासिल गर्न सफल भए। विजेता धावकहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको समापन समारोहमा बोल्दै आयोजकहरूले खेलकुदले युवालाई अनुशासित, ऊर्जाशील र राष्ट्रप्रति जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। राष्ट्रिय युवा संघ नेपालले आगामी दिनमा पनि युवालाई खेलकुदमार्फत एकताबद्ध गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रममा विभिन्न सामाजिक, राजनीतिक तथा खेल क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताले राजधानीमा खेलकुदमय वातावरण सिर्जना गर्नुका साथै युवा पुस्तामाझ दौड संस्कृतिलाई थप प्रवर्द्धन गरेको आयोजकहरूको विश्वास छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको