रोमाञ्चक जितसहित युनाइटेडकाे तेस्राे स्थान पक्का


काठमाडाैं। इङ्लिस प्रिमियर लिगअन्तर्गत सम्पन्न रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टलाई ३–२ गोलअन्तरले पराजित गरेको छ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडले सुरुआती अग्रता जोगाउँदै महत्वपूर्ण तीन अंक हात पारेको हो।

खेलको पाँचौँ मिनेटमै लुक शले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन र पहिलो हाफ १–० मा समाप्त भयो।

दोस्रो हाफको ५३औँ मिनेटमा मोराटोले हेडमार्फत गोल गर्दै नटिङ्घमलाई खेलमा फर्काए। तर ५५औँ मिनेटमा म्याथियस कुञ्हाले गोल गर्दै युनाइटेडलाई पुनः २–१ को अग्रता दिलाए। भिडियो सहायक रेफ्रीमार्फत जाँचपछि उक्त गोलले मान्यता पाएको थियो।

७६औँ मिनेटमा ब्रायन म्बेउमोले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै घरेलु टोलीको अग्रता ३–१ मा पुर्‍याए। त्यसको दुई मिनेटपछि मोर्गन गिब्स–ह्वाइटले गोल फर्काउँदै नटिङ्घमलाई ३–२ को अवस्थामा ल्याए पनि बाँकी समयमा बराबरी गोल गर्न सकेन।

खेलको अन्तिम समयमा युनाइटेडले लगातार आक्रमण गरे पनि फरेस्टका गोलरक्षक माट्ज सेल्सले केही उत्कृष्ट बचाउ गरेका थिए। डियोगो डालोटको प्रहार पोस्टमा लाग्दा घरेलु टोली चौथो गोलबाट समेत वञ्चित बनेको थियो।

जितसँगै म्यानचेस्टर युनाइटेडले ३७ खेलबाट ६८ अंक पुर्‍याएको छ। टोली लिग तालिकाको शीर्ष तीनमा कायम रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको