केएमसी स्कुलको सहज जित, ह्वाइटहाउस प्रतियोगिताबाट बाहिरियो

काठमाडौं। केएमसी स्कुलले एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ अन्तर्गत हिमालयन ह्वाइटहाउस आईबी वर्ल्ड स्कुललाई ६ विकेटले पराजित गरेको छ।

काठमाडाैं जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारबाट सुरुभएकाे प्रतियाेगिताकाे दाेस्राे दिन बुधबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा हिमालयन ह्वाइटहाउसले दिएको ९० रनको सामान्य लक्ष्य केएमसीले १३ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो।

केएमसीको जितमा कप्तान बिधान सापकोटाले ३४ बलमा ५ चौका र २ छक्कासहित अविजित ४८ रनको उत्कृष्ट इनिङ्स खेले। अमित कुमार दासले २६ बलमा ४ चौका र १ छक्काको मद्दतमा अविजित ३२ रन जोड्दै टोलीको जित सुनिश्चित गरे।

हिमालयन ह्वाइटहाउसका लागि प्रशन्न जैशीले २ विकेट लिए भने आयुष शाही र मधुर पोखरेलले समान १–१ विकेट हात पारे।

त्यसअघि टस जितेर ब्याटिङ गरेको हिमालयन ह्वाइटहाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनाएको थियो। टोलीका कप्तान प्रशन्न जैशीले सर्वाधिक ३३ रन बनाए भने मेगन खत्रीले १७ र दाइची खड्काले ११ रनको योगदान दिए।

केएमसीका अमित कुमार दासले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए। अर्नभ ग्यावलीले २ विकेट लिए भने श्रीजल भट्टा र बिधान लुइटेलले समान १–१ विकेट लिए।

यो जितसँगै केएमसीले सेमिफाइनल सम्भावना बलियो बनाएको छ। लगातार दोस्रो हार बेहोरेको हिमालयन ह्वाइटहाउस भने समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ। हिमालयन यसअघि पहिलाे खेलमा ग्यालेक्सी पब्लिक स्कुलसँग ९० रनले पराजित भएकाे थियाे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको