काठमाडौं। अनिल गुरुङको अविजित शतकप्रेरित रेडियन्ट रिडर्स स्कुलले एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ अन्तर्गत नेक्सस इन्टरनेसनल स्कुललाई ४८ रनले पराजित गरेको छ।
तल्लो मूलपानी क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेक्ससले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो। कप्तान केभिन कँडेलले २७ र शुभांक नेपालले २४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
रेडियन्टका समीर चौधरीले ३ विकेट लिए भने सनातन नेपालले २ विकेट हात पारे। अनिलकुमार शाह, निलेश सिटौला र रोनिश श्रेष्ठले समान १–१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको रेडियन्टले २० ओभरमा १ विकेट गुमाएर १७४ रन बनाएको थियो। अनिल गुरुङले ७३ बलमा १३ चौका र १ छक्कासहित अविजित १०० रनको शतकीय इनिङ्स खेले। अनिलकुमार शाह २९ रनमा अविजित रहे।
यो जितसँगै रेडियन्टले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ। लगातार दोस्रो हार बेहोरेको नेक्सस भने समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ।