काठमाडौं। तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ अन्तर्गत बिहीबार सम्पन्न खेलमा अपी स्कुलले ज्ञान मन्दिर इङ्ग्लिस बोर्डिङ स्कुललाई १ सय ९१ रनले पराजित गर्दै लगातार दोस्रो जितसहित क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
माथिल्लाे मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अपीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६५ रनको विशाल योगफल तयार गरेको थियो। अपीका कुसुम प्रसालले ६७ बलमा १ सय २० रनको विस्फोटक शतकीय इनिङ्स खेले भने कप्तान युगान्त कार्कीले ३५ बलमा ८२ रन जोडे।
२ सय ६६ रनको लक्ष्य पछ्याएको ज्ञान मन्दिर १८ ओभरमा ७४ रनमै समेटियो। उसका लागि सोनु कुमारले अविजित ३८ रन बनाए।
अपीकाे जितमा विशाल बुढा र कुसुम प्रसालले समान २–२ विकेट लिए। अलराउण्ड प्रदर्शन गरेका कुसुम प्रसाल ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई पिक पोइन्टको तर्फबाट नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिएकाे थियाे।
यसअघि अपीले समूह ‘डी’ काे पहिलाे खेलमा एन्जल्स हार्ट नेसनल स्कुललाई ८ रनले पराजित गरेको थियो। लगातार दोस्रो जितसँगै अपी समूह विजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ।