काठमाडौं। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर स्कूल क्रिकेट प्रतियोगितामा रत्न राज्य माध्यमिक विद्यालयले संस्कृति इन्टरनेशनल स्कुललाई ९१ रनले पराजित गरेको छ। यो जितसँगै दुई खेलमा दुई अंक जोडेकाे छ।
माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रत्न राज्यले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो।
रत्न राज्यका लागि एशिक चन्दले उत्कृष्ट ब्याटिङ गर्दै ५२ बलमा ११ चौका र १ छक्कासहित ८१ रन बनाए। करण चौधरीले ४५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ६६ रनको महत्वपूर्ण योगदान दिए। उदयकुमार मण्डलले २४ रन जोडे।

संस्कृतिका लागि प्राञ्जन शर्मा देवकोटाले २ विकेट लिए भने आरुष घिमिरे, गर्भ बहेती र देबांश जंग लामिछानेले समान १–१ विकेट हात पारे।
१९४ रनको लक्ष्य पछ्याएको संस्कृतिले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सक्यो।
गर्भ बहेती ५० बलमा ४२ रन बनाएर अविजित रहे भने दिपांशा मान श्रेष्ठ १० रनमा अविजित रहे। अन्य ब्याटरले दोहोरो अंकको योगदान दिन सकेनन्।
रत्न राज्यका लागि शौरभ यादव र दिपेश थापाले समान २–२ विकेट लिए। बिकेश तामाङले १ विकेट हात पारे। एशिक चन्द खेलको प्लेयर अफ द म्याच घोषित भए। उनले पिक पोइन्टकोतर्फबाट नगद १ हजार ५ सय पाए।