काठमाडौं। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगितामा डीएभी सुशील केडिया विश्व भारती स्कुल क्लवाटरफाइनलमा प्रवेश गरेको छ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा डीएभीले रेडियन्ट रिडर्स स्कुललाई १७८ रनले पराजित गरेको हो। याे जितसँगै दुई खेलमा दुई जितसहित डीएभी समूह ‘ए’ काे विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।
टस जितेर पहिले ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २५८ रनको विशाल योगफल तयार पारेको थियो। डीएभीका प्रसिद्ध जैशीले विस्फोटक ब्याटिङ गर्दै ५४ बलमा १७ चौका र ८ छक्काको मद्दतमा १५२ रन बनाए। आरुष झाले ५५ बलमा ८० रन बनाएर अविजित रहे। सत्याम बस्नेतले १५ रन जोडे।
रेडियन्टका लागि निश्चल चौधरीले २ विकेट लिए भने निलेश सितौलाले १ विकेट हात पारे।
२५९ रनको लक्ष्य पछ्याएको रेडियन्ट १८.३ ओभरमा ८० रनमा अलआउट भयो। अनिल गुरुङले सर्वाधिक २७ रन बनाए भने अनिल कुमार शाहले १७ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
डीएभीका कुनजन आचार्यले ३ विकेट लिए। तनिश शाह र प्रसिद्ध जैशीले समान २–२ विकेट लिए भने कमल शाही र केशव अग्रवालले १–१ विकेट हात पारे। खेलमा प्रसिद्ध जैशी खेलको प्लेयर अफ द म्याच घोषित हुँदै पिक पोइन्टकाे तर्फबाट नगद १ हजार ५ सय पुरस्कार पाए।