काठमाडौं। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयले क्रिएटिभ एकेडेमीलाई १० विकेटले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्रिएटिभ एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०३ रन बनाएको थियो।
क्रिएटिभका लागि सम्योग अर्यालले सर्वाधिक २५ रन बनाए। बक्था देवकोटाले अविजित २९ रन जोडे भने पियुषराज भट्टाले १३ रनको योगदान दिए।
सैनिक आवासीयका लागि राजदीप आचार्यले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। रोशन तिवारीले २ विकेट हात पारे भने आवास केसीले १ विकेट लिए।
१०४ रनको लक्ष्य पछ्याएको सैनिक आवासीयले १२.४ ओभरमै कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्यो। राजदीपले ४३ बलमा ६ चौका र १ छक्कासहित अविजित ६० रन बनाए भने गौरव कार्की ३५ बलमा ३३ रनमा अविजित रहे। दुवैले पहिलो विकेटका लागि अविजित १०७ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।
उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका राजदीप आचार्य खेलको ‘पिक प्वाइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।