काठमाडौं। फिफा विश्वकपअघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले होन्डुरसमाथि जित हासिल गरेको छ।
आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टनाले होन्डुरलाई २–० ले पराजित गरेको हो। खेलको ३७औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै लाउटारो मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले अग्रता लिएको थियो।
पहिलो हाफ १–० ले आफ्नो पक्षमा पारेको अर्जेन्टिनाले दोस्रो हाफको ५४औँ मिनेटमा जुलियानो सिमेओनेको गोलमार्फत अग्रता दोब्बर बनायो। सिमेओनेको गोलका लागि लाउटारो मार्टिनेजले उत्कृष्ट पास उपलब्ध गराएका थिए।
खेलभर अर्जेन्टिनाले बल नियन्त्रणमा वर्चस्व कायम राख्दै निरन्तर आक्रमण बुनेको थियो।