काठमाडौं। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ अन्तरविद्यालय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा डीएभी सुशील केडिया विश्व भारती स्कुल फाइनलमा प्रवेश गरेको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा डीएभीले जेम्स स्कुललाई ४४ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो। डीएभीका लागि प्रसिद्ध जैशीले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ९ चौकासहित ४९ रन बनाए। बिराज जैसवालले २८ बलमा ३७ रन योगदान दिए। सत्याम बस्नेतले १६ तथा मयंक शाहले १० रन जोडे।
जेम्सका लागि स्वराज चौलागाईंले ३ विकेट लिए भने प्रगव पाण्डे, प्रचेत लखोटिया र अन्जन झाले समान १–१ विकेट हात पारे।

१ सय ३१ रनको लक्ष्य पछ्याएको जेम्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो। स्वराज चौलागाईंले ४४ बलमा २७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। सुदिश पौडेलले १६ तथा प्रचेत लखोटियाले १५ रन जोडे।
डीएभीका लागि कुञ्जन आचार्यले २ विकेट लिए भने प्रसिद्ध जैशी, कमल शाही र केशव अग्रवालले समान १–१ विकेट लिए। कमल शाहीले ४ ओभरमा मात्र ५ रन खर्चिएर १ विकेट लिए।
खेलमा डीएभीका प्रसिद्ध जैशी ‘ पिक पोइन्ट प्लेयर अफ द म्याच’ घोषित भए। डीएभीले अब उपाधिको लागि पुलिस स्कुल सैनिकबीचको विजेतासँग खेल्नेछ।