हेलम्बुलाई हराउँदै पाँचपोखरीले जित्यो उपाधि

काठमाडौं। आठौं पाँचपोखरी टी–२० सिन्धुपाल्चाेक जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताकाे उपाधि पाँचपोखरी क्रिकेट क्लबले जितेकाे छ।

तल्लाे मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा पाँचपाेखरीले हेलम्बु गाउँपालिकालाई पाँच विकेटले पराजित गर्दै उपाधि जितेको हाे।

जितका लागि १२२ रनको लक्ष्य पछ्याएको पाँचपाेखरीले १९.१ ओभरमा पाँच विकेट गुमाएर १२२ रन बनाउँदै जित दर्ता गर्यो।

पाँचपाेखरीको जितमा बुद्धिमान पाख्रिनले अविजित ५७ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ५६ बलमा चार चौका र एक छक्का प्रहार गरे। सार्थक धितालले २३ रनको योगदान दिए।

हेलम्बुका सचिन लेखकले दुई विकेट लिए भने बिनोद तामाङ र दोर्जे छिरिङ श्याङ्बा ह्योल्मोले समान एक–एक विकेट हात पारे।

यसअघि टस जितेर ब्याटिङ गरेको हेलम्बु गाउँपालिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२१ रन बनाएको थियो।

हेलम्बुका शिवम तिवारीले अविजित ६८ रनको इनिङ्स खेले। उनले ५१ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए। सचिन लेखकले ३५ रन जोडे भने अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

पाँचपाेखरीका मनोज खड्काले चार ओभरमा मात्र १२ रन खर्चेर तीन विकेट लिए। विपिन आचार्य, विजयकुमार धिताल र सार्थक धितालले समान एक–एक विकेट हात पारे।

गत जेठ २७ गतेबाट सुरु भएकाे प्रतियाेगितामा सिन्धुपाल्चाेक जिल्ला भित्रका ७ टाेलीकाे सहभागिता रहेकाे थियाे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको