बूढानीलकण्ठलाई राष्ट्रिय महिला बास्केटबलको उपाधि

काठमाडौं। १०औं राष्ट्रिय महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बूढानीलकण्ठ नगरपालिकाले जितेको छ।

कीर्तिपुर कभर्डहलमा शुक्रबार भएको फाइनलमा बूढानीलकण्ठले ग्रान्डी स्टार्सलाई ५०–३७ ले पराजित गर्दै च्याम्पियन बनेको हो। सुरुआत देखिनै खेलमा अग्रता लिएको बूढानीलकण्ठले हाफटाइमसम्म २७–१३ को अग्रता बनाएको थियो। त्यसपछि ग्रान्डी स्टार्सले पुनरागमनको प्रयास गरेपनि सुरुआती अग्रता नै बूढानीलकण्ठको जितमा निर्णायक बन्यो। बूढानीलकण्ठले १३–६, १४–७, १३–१४, १०–१० को प्रदर्शन ग¥यो।

सेमिफाइनलमा बूढानीलकण्ठले सुनसरी बास्केटबल एसोसिएसन र ग्रान्डी स्टार्सले आइएसए नेपाललाई पराजित गरेका थिए। बुढानिलकण्ठकी उर्जा राना मगर फाइनल खेलको प्लेअर अफ दि म्याच घोषित भइन्। प्रतियोगिताको विजेता बूढानीलकण्ठले नगद ५० हजार मेडल प्रमाणपत्र र ट्रफी हात पारेको छ। उपविजेता ग्रान्डी स्टार्सले ३० हजार नगद पुरस्कार प्राप्त ग¥यो।

यस्तै च्याम्पियन टिमकी अनुसा मल्ल मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित भइन्। उनले नगद १० हजार प्राप्त गरिन्। उदीयमान टोली बनेको सुनसरी बास्केटबल एसोसिएसनले पनि १० हजार पायो। उपत्यकाबाहिरबाट सहभागी टिमको उदीयमान खेलाडी अन्नपूर्ण बास्केटबल एसोसिएसनकी निर्बिति शर्मा बनिन्। उनले ५ हजार प्राप्त गरिन्।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भएको प्रतियोगितामा उपत्यका बाहिरको ३ सहित कूल ८ टोलीले प्रतिस्पर्धा गरेका थिए। यो प्रतियोगिता साबा महिला बास्केटबल च्याम्पियनसिपको लागि राष्ट्रिय टिम छनोटको आधार समेत रहेको बास्केटबल संघले जनाएको छ।

प्रतियोगिताको विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठ, नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङलगायतले पुरस्कृत गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको