काठमाडाैं। भ्याली पब्लिक र मातृभूमिले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भ्याली पब्लिकले नवोदितलाई ३४–२४ तथा मातृभूमिले युनिकलाई ७३–५३ ले पराजित गरे। भ्याली पब्लिकका अशोक विकले २५ तथा मातृभूमिका सक्षम महर्जनले २० स्कोर गरे।
संस्कृतिले प्रिमियर इन्टरनेसनललाई ५३–३२, रेडियन्ट रिडर्सले चाणक्यलाई ४१–३३, निसर्ग वाटिकाले हिमालयन एकेडेमीलाई ४७–३०, एलआरआईले एभरेष्टलाई ३५–२१, डाफोडिल पब्लिकले पुष्पसदनलाई ६९–५०, दुर्गा भवानीले बौद्ध इन्टरनेसनललाई ५६–४२, नेमोनिकले आदर्शलाई ५५–३५ र विद्या विकासले भेनसलाई ४६–३३ ले पाखा लगाए। संस्कृतिका अभिग्न श्रेष्ठले १९, रेडियन्टका रोवंश वाइबाले १९, निसर्गका सचित श्रेष्ठले २२, एलआरआईका सुजल मडइले १६, डाफोडिलका काल्साङ तामाङले ३०, दुर्गा भवानीका कृष्चल अधिकारीले ४३, नेमोनिकका फिन्जु शेर्पाले १८ र विद्या विकासका जस्विन खत्रीले १२ अंक जोडे।
प्रतियोगिताको प्याब्सनकी उपाध्यक्ष संगीता सिलवालले उद्घाटन गरिन्। नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजना तथा नेपाल विद्यालय खेलकुद महासंघको सहयोगमा भइरहेको प्रतियोगितामा ४० टिम सहभागी छन्। प्रतियोगिता असोज १५ गतेसम्म चल्ने छ।