काठमाडाैं। अस्ट्रिया र अल्जेरियाले फिफा विश्वकपको समूह ‘जे’ को अन्तिम खेलमा रोमाञ्चक ३–३ को बराबरी खेल्दै दुवैले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। यस नतिजाले इरान र दक्षिण कोरिया भने अन्तिम क्षणमा प्रतियोगिताबाट बाहिरिएको छ।
आइतबार क्यान्सस सिटीमा भएको खेलको इन्जुरी समयमा नाटकीय मोड आएको थियो। निर्धारित समयपछि अल्जेरियाका रियाद महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–२ को अग्रता दिलाएपछि अस्ट्रिया प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो। तर‚ त्यसको केही क्षणमै सासा कालाज्जिचले हेडमार्फत बराबरी गोल गर्दै अस्ट्रियाको नकआउट यात्रा सुनिश्चित गरे।
अस्ट्रियाका लागि मार्को अर्नाउटोभिच, मार्सेल साबित्जर र सासा कालाज्जिचले गोल गरे भने अल्जेरियाका लागि रियाद महरेजले दुई तथा रफिक बेल्घालीले एक गोल गरे।
यो नतिजासँगै अस्ट्रिया समूह ‘जे’ मा अर्जेन्टिनापछि दोस्रो स्थानमा रहँदै सन् १९८२ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गर्न सफल भयो। अब उसले अन्तिम ३२ मा युरोपियन च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
यता, अल्जेरिया समूहमा तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीमध्ये एक बन्दै नकआउट चरणमा पुगेको छ। अब उसले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। अल्जेरिया यस विश्वकपमा समूह चरण पार गर्ने नवौं अफ्रिकी राष्ट्र बनेको छ।
यदि अस्ट्रिया वा अल्जेरियामध्ये कुनै एक टोली विजयी भएको भए इरान उत्कृष्ट तेस्रो स्थानका टोलीमध्ये एकका रूपमा नकआउटमा पुग्ने थियो। तर‚ इन्जुरी समयमा कालाज्जिचले बराबरी गोल गरेपछि इरानको विश्वकप यात्रा अत्यन्तै पीडादायी ढंगले समाप्त भयो।
खेलको २९औं मिनेटमा मार्को अर्नाउटोभिचले गोल गर्दै अस्ट्रियालाई अग्रता दिलाएका थिए। तर‚ पहिलो हाफको अन्त्यतिर रफिक बेल्घालीले बराबरी गोल फर्काए।
दोस्रो हाफमा खेल अझ रोमाञ्चक बन्यो। मार्सेल साबित्जरले अस्ट्रियालाई पुनः अग्रता दिलाए पनि केही मिनेटपछि होउसेम आउआरको उत्कृष्ट क्रसमा रियाद महरेजले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।
अन्तिम समयमा अल्जेरियाले बल नियन्त्रणमा राख्दै खेल सकाउने प्रयास गरिरहेको जस्तो देखिए पनि इन्जुरी समयमा महरेजले अर्को गोल गर्दै टोलीलाई ३–२ को अग्रता दिलाए। तर‚ त्यसको केही क्षणमै सासा कालाज्जिचले निर्णायक बराबरी गोल गर्दै खेल ३–३ मा टुंग्याए।
यो खेललाई सन् १९८२ को चर्चित ‘डिस्ग्रेस अफ गिहोन’सँग पनि तुलना गरिएको थियो। त्यतिबेला अस्ट्रिया र पश्चिम जर्मनीबीचको विवादास्पद नतिजाका कारण अल्जेरिया विश्वकपबाट बाहिरिएको थियो। यस पटक भने दुवै टोलीले आक्रामक खेल प्रस्तुत गर्दै दर्शकलाई अन्तिम मिनेटसम्म रोमाञ्चक प्रतिस्पर्धाको मनोरञ्जन दिलाएका थिए।