काठमाडौं। काठमाडौं महानगरपालिका तथा काठमाडौं जिल्ला ब्याडमिन्टन संघको संयुक्त आयोजनामा भएको ‘काठमाडौं महानगर कप वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८३’ सम्पन्न भएको छ। प्रतियोगितामा वडा नं १५ ले दुई विधाको उपाधि जित्दै आफ्नो वर्चस्व कायम गरेको छ।
काठमाडौं १५ स्थित एनओसी भूकम्प स्मृति कभर्ड हल, डल्लु आवासमा आइतबार सम्पन्न फाइनल खेलमा महिला एकलतर्फ अजारेन्का शेर्चन र मिक्स डबल्सतर्फ अनिश आर तुलाधर तथा विद्या श्रेष्ठको जोडी च्याम्पियन बने। पुरुष एकलको उपाधि भने वडा नं. १० का बबिश थापाले जिते।
पुरुष एकल फाइनलमा बबिशले वडा नं १५ का स्वयम मानन्धरलाई २१–१२, २१–९ को सोझो सेटमा पराजित गर्दै उपाधि उचाले। च्याम्पियन बबिशले नगद ३२ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता स्वयमले २० हजार रुपैयाँ हात पारे।
महिला एकलको उपाधि भिडन्तमा वडा नं १५ की अजारेन्काले वडा नं ६ की शिस्तता कुइकेललाई २१–११ र २१–९ ले हराइन्। उनले ३२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् भने उपविजेता शिस्तताले २० हजार रुपैयाँमा चित्त बुझाइन्।
मिक्स डबल्स फाइनलमा अनिश आर तुलाधर र विद्या श्रेष्ठको जोडीले सक्षम ढकाल र विभा थापाको जोडीलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जित्यो। विजेता टोलीले ४० हजार रुपैयाँ तथा उपविजेता टोलीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो।
प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फ शीर्ष आठ स्थानसम्म र मिक्स डबल्समा पनि शीर्ष आठ टोलीसम्मलाई नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। तीनै विधामा गरी कूल २ लाख ८२ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो।
विजेताहरुलाई काठमाडौं महानगरपालिकाकी कार्यबहाक मेयर सुनिता डंगोल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव राजीव श्रेष्ठ, काठमाडौं नगरपालिका सामाजिक विकास समितिका सभापति रामकुमार केसी तथा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ब्याडमिन्टन संघका सचिव दीपक थापाले ट्रफी, पदक र नगद चेक प्रदान गरेका थिए।
यसबीच समापन समारोहमा ब्याडमिन्टनका पूर्व खेलाडी एवम् प्रशिक्षक कुमार मोहन बहादुर शाहीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको थियो।
कूल ३६ लाख बजेट खर्च भएको प्रतियोगिता राजधानीकै सबैभन्दा ठूलो सामुदायिक ब्याडमिन्टन प्रतियोगिता भएको आयोजकले दाबी गरेको छ। प्रतियोगिताले ३२ वटै वडालाई एउटै खेलमञ्चमा जोड्ने उद्धेश्य बोकेको थियो।