काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई शुक्रबार खेल पोशाक प्रदान गरेको छ। विभिन्न १० खेलको तयारी प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई खेल पोशाक वितरण गरिएको हो।
कराते, बक्सिङ, महिला कबड्डी, महिला भलिबल, तेक्वान्दो, कुस्ती, जुडो, उसु, गल्फ र एथलेटिक्सका खेलाडी तथा प्रशिक्षकलाई खेल पोशाक वितरण गरियो।
राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र राखेपका सदस्य पवन शाहीले एक कार्यक्रमबीच पोशाक वितरण गरे।
उपाध्यक्ष श्रेष्ठले विशेष तयारी प्रशिक्षण सुरु गर्नु राम्रो काम भएको बताउदै अब खेलाडीले एसियन गेम्समा प्रमाणित गर्ने बेला आएको बताए। कार्यकारी सदस्य श्रेष्ठले एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिइन्।
हाङझाव एसियाडकी कीर्तिमानी रजत विजेता करातेकी एरिका गुरुङले प्रशिक्षणले खेलाडीमा उर्जा थपेको बताउदै नयाँ आशा पनि पलाएको बताइन्। एरिकाले लामो अवधिको प्रशिक्षणले सजिलो महशुस भएको बताउदै एसियाली खेलकुदका लागि तयार रहेको बताइन्।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले पारा तेक्वान्दो, पारा स्विमिङ, पारा एथलेटिक्स, पारा ब्याडमिन्टन र पारा पावरलिफ्टिङलाई यसअघि नै पोशाक वितरण गरिसकेको जानकारी गराए।
जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक हासिल गर्ने लक्ष्यसहित राखेपले २०८० साल माघ १५ गतेदेखि मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको थियो।