काठमाडौं। दोस्रो संस्करणको गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार काठमाडौंमा आयोजना हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले नेपाल र भारतका गरी कुल १४ जना खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो।
प्रतियोगिता आयोजक संस्था गोर्खा प्रोमोसन्सका अध्यक्ष सन्तोष बहादुर शाहले नेपाल र भारतका खेलाडीबीच विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुने बताए। यसपटक पुरुषसँगै महिला खेलाडीलाई पनि प्रतिस्पर्धामा सहभागी गराइएको छ। यसले नेपाली महिला बक्सिङ खेलाडीलाई व्यावसायिक रूपमा प्रतिस्पर्धा गर्ने अवसर थपिने शाहले अपेक्षा राखे।
उक्त प्रतियोगितामा महिलातर्फ ५२ किलो तौल समूहमा नेपालकी पुनम पुन मगर र भारतकी मेहेकप्रीत सिद्धुबीच प्रतिस्पर्धा हुनेछ। यस्तै पुरुषतर्फ ६९ किलो तौल समूहमा नेपालका भरत चन्द र भारतका अङ्कित कुमारबीच खेल हुनेछ। ५२ किलो तौल समूहमा नेपालका अर्पिल राना र भारतका शानबोरलाङ मार्बानियाङबीच प्रतिस्पर्धा हुँदा अन्डरकार्डतर्फ ५० किलोमा नेपालका फुङलाङ काम्बाङ र भारतका लक्ष्य सुनारिया तथा ५७ किलोमा नेपालका मिलन सार्की र भारतका साहिल चौहानबीच प्रतिस्पर्धा हुनेछ।
यसैगरी ६३ दशमलव पाँच किलोतर्फ गुल्मीका रोविन खत्री र मकवानपुरका सोहन राई तथा ५२ किलोमा काठमाडौँका विवेक मगर र चितवनका आयुष श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा अन्तर्राष्ट्रिय एमएमए फाइटर रवीन्द्र ढाँटको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ। ढाँटलाई आयोजकले प्रतियोगिताकै ‘आइकन’ बनाएको छ भने नेपाली चलचित्रका स्टार अभिनेता अनुपबिक्रम शाहीलाई गोर्खा प्रोमोसन्सले सद्भावना दुत् चयन गरेको छ।
नेपाली बक्सरलाई अन्तर्राष्ट्रिय बक्सरसँग प्रतिस्पर्धा र अनुभवका लागि मञ्च उपलब्ध गराउँदै उनीहरूलाई भविष्यमा विश्व च्याम्पियनसिपको स्तरसम्म पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहले बताए। आगामी दिनमा यो प्रतियोगितालाई थप वृहत र परिस्कृत ढंगले आयोजना गर्ने आयोजकले बताएको छ।