एसियन गेम्सका लागि जापान जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । २०औँ एसियाली खेलकुदमा सहभागी हुन जापान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको शनिबार बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित कार्यक्रममा नेपाली टोलीलाई बिदाइ गरिएको हो।

नेपाली टोलीलाई राखेपका सदस्यसचिव रामचरित्र मेहता, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतले बिदाइ गरेका थिए।

एसियाली खेलकुदमा नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन्। टोलीमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरासहित कुशल मल्ल र शेर मल्ल रहेका छन्।

नेपाल पुरुष क्रिकेटको समूह ‘ए’ मा अफगानिस्तान र आयोजक जापानसँगै परेको छ। नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २५ मा अफगानिस्तानसँग खेल्नेछ। उक्त खेल जापानको स्थानीय समयअनुसार दिउँसो २ बजे तथा नेपाली समयअनुसार बिहान १०ः१५ बजे सुरु हुनेछ।

नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल सेप्टेम्बर २६ मा जापानसँग खेल्नेछ। यो खेल जापानको स्थानीय समयअनुसार बिहान ९ बजे सुरु हुनेछ, जुन नेपाली समयअनुसार बिहान ५ः४५ बजे पर्छ।

समूह चरणमा राम्रो प्रदर्शन गर्दै नेपालले क्वार्टरफाइनलमा स्थान बनाउने लक्ष्य राखेको छ। पुरुष क्रिकेट प्रतियोगिता सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म जापानको आइची प्रान्तमा सञ्चालन हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको