काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले लगातार तेस्रो जित निकालेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको हो।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो।
जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक ३३ रन बनाए। उनले २० बलमा ३ छक्का प्रहार गरे। आदित्य महताले अविजित ३० तथा सैफ हसनले २८ रन जोडे। त्रित राज दासले १८ रन बनाउँदा अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
लुम्बिनीका लागि बलिङमा डेर्सी सर्टले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा २३ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। तिलक भण्डारीले २ ओभरमा मात्र ५ रन दिएर २ विकेट लिए। शेर मल्लले पनि २ विकेट हात पारे। रुबेन ट्रम्पलम्यानले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। निरोशन डिकवेलाले २७, दिलीप नाथले २१ र आसिफ शेखले २१ रनको योगदान दिए। रुबेन ट्रम्पलम्यानले १५ तथा शमीम हुसेनले १३ रन बनाए।
जनकपुरका लागि विशाल शुस्लिङ र राहुल यादवले समान २ विकेट लिए। ललित राजवंशी, हरमित सिंह, अभिषेक तिवारी र सैफ हसनले समान १ विकेट हात पारे।
यस जितसँगै लुम्बिनीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ। लुम्बिनीले लगातार तीन खेल जितेको हो।