काठमाडाैं। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विहीबार भएको पुरुष क्रिकेटतर्फको दोस्राे खेलमा नेपाल आर्मी क्लबले गण्डकीलाई ६७ रनले पराजित गरेको छ।
कालुन्चोक मैदानमा विहीबार भएको दोस्राे खेलमा टस जितेर बलिङ रोजेको गण्डकीविरुद्ध विभागीय टोलीले २० ओभर खेल्दै ९ विकेट क्षतिमा १७७ बनायो।
जवाफी ब्याटिङमा उत्रिएको गण्डकी भने १७ ओभरमा अलआउट हुँदा ११० रनमा सीमित भयो।
आर्मीका कप्तान विनोद भण्डारी र कुशल मल्लको समान ३६—३६ रनको योगदानमा विभागीय टोलीले १७८ रनको लक्ष्य खडा गर्यो। मल्लले २ छक्का र ४ चौका प्रहार गर्दै ३६ रन जोड्दा भण्डारीले १ छक्का र ३ छक्काको मद्दतमा ३६ बलमा ३६ रन बटुले।
आर्मीका वशिर अहमदले २७ र त्रितराज दास ११ बलमा २४ रन जोडेपनि राष्ट्रिय टीमका अर्को सदस्य भीम सार्की दुई बल खेल्दै खातै नखोली डगआउट फर्किए। बलिङमा गण्डकीका कप्तान विपिन खत्रीले २८ रन खर्चेर ३ विकेट हात पार्दा कृष्ण पौडेल र सुदिप अर्यालको खातामा समान दुई-दुई विकेट रह्यो। २१ रन अतिरिक्त खर्चिनु गण्डकीका लागि घातक बन्यो।
गण्डकीका ओपनर ईश्वर क्षेत्रीले १५ बलमा ५ चौकासहित २६ रन जोडेर टीमका लागि सर्वाधिक रन बटुले भने सोहेल कुँवरले २२ र वंश क्षेत्रीले १६ रन जोडे। आर्मीका लागि प्लेयर अफ दि म्याच तिलकराज भण्डारीले ३ ओभर बलिङ गर्दै जम्मा १२ रन खर्चेर ४ विकेट हात पारे। यस्तै नरेश साउँदले २ र कुशल मल्लले १ विकेट लिए।
पहिलो जितसँगै कर्णाली र आर्मीले समान दुई-दुई अंक जोडेका छन्।
