ललितपुर । पुष्पसदन आवासीय माध्यमिक विद्यालयद्वारा आयोजित पुष्पसदन अन्तर्राष्ट्रिय विद्यालय चेस च्याम्पियनसिप शनिबारबाट सुरु भएको छ।
भारतका ९ जना विद्यार्थीसहित देशभरका गरी २ सय ५० विद्यार्थीले प्रतिस्पर्धा गरीरहेको सो च्याम्पियनसीपको पुष्पसदन विद्यालयका प्रमुख, शिक्षक र चेस संघका प्रतिनिधिहरूले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
३ दिने प्रतियोगितामा यु–११, यु –१३ र यु –१५ छात्र तथा छात्रा, तीन अलग–अलग समूहमा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक एवं सीम तथा एफटी केशव श्रेष्ठले जानकारी दिए।
उनका अनुसार पहिलो दिनको दोस्रो राउन्ड समाप्ति सँगै पुष्पसदन आवासीय माध्यमिक विद्यालय, अन्नपुर्ण मा.वि., त्रियोग हाई स्कुल, स्वस्तीश्री गुरुकुल लगायत विद्यार्थीहरूले राम्रो खेल प्रदर्शन गरेका छन्। आइतबार तेस्रो, चौथो र पाचौँ राउन्ड खेल हुनेछ भने खेल बिहान १० बजे सुरु हुनेछ। सोमबार अन्तिम २ वटा फाइनल राउण्डका खेल हुने प्रतियोगिता संयोजक श्रेष्ठले जानकारी दिए।
नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्वीस लिग प्रणालीका आधारमा (७ राउण्डमा) सञ्चालन गरिने प्रतियोगितामा प्रत्येक समुहका उत्कृष्ट १० खेलाडीलाई प्रमाणपत्र र पदक दिईने विद्यालयका अध्यक्ष महेश श्रेठले जानकारी दिए। उनका अनुसार उत्कृष्ट तीन विद्यालयलाई पहिलो, दोस्रो र तेस्रो छनोट गरी ट्रफि पनि प्रदान गरिनेछ।
बुद्धिचाल प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजाने उद्देश्यले छिमेकी राष्ट्रहरूका केही इच्छुक विद्यालयहरूलाई समेत आमन्त्रण गरिएको थियो । जसमा सिक्किमबाट ३५ जना खेलाडीको सहभागीता रहेको छ।
पहिलो दिन जुनियर समुहका विद्यार्थीहरूको सहभागिता उल्लेखनीय वृद्धि भएको पुष्पसदनका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए। यस प्रकारको प्रतियोगिताले नेपालमा चेस खेलको लोकप्रियता बढाउने र युवा पुस्तामा चेसको प्रति रुचि बढेको देखिन्छ, उनले भने, यस प्रतिस्पर्धाले विद्यार्थीहरूलाई मानसिक क्षमता र रणनीतिक सोचको विकासमा मद्दत पुर्याउने उद्देश्य राखेको छ।
प्रतियोगितामा काठमाडौँ उपत्यकाबाहिर र नेपालबाहिरबाट सहभागी हुने खेलाडीहरूको टोलीलाई विद्यालयले आफ्नै खर्चमा निःशुल्क आवास र खानपिनको प्रबन्ध मिलाएको पुष्पसदन विद्यालयले जनाएको छ।


