काठमाडौं । नेपाली महिला यू- १९ टोलीकी कप्तान पूजा महतो आइसिसी यू- १९ महिला विश्वकपको ‘टिम अफ दी टुर्नामेन्टमा’ परेकी छिन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले सोमबार घोषणा गरेको १२ खेलाडीमा नेपालकी पूजा पनि परेकी हुन्। उनी टोलीमा पर्ने एसोसिएट राष्ट्रको एक मात्र खेलाडी हुन्।
उनको कप्तानीमा नेपालले पहिलो पटक महिला यू- १९ विश्वकप खेलेको थियो। नेपाल विश्वकपमा समूह चरण अन्तर्गत भएको तीनै वटा खेलमा पराजित हुँदै सुपर सिक्समा पुग्न असफल भएको थियो।
सो विश्वकपमा उनले ९ विकेट समेत लिएकी थिइन्। हालै उनी घरेलु मैदानमा आयोजना भइरहेको त्रिकोणात्मक सिरिजमा सिनियर टिमबाट पनि खेलिरहेकी छिन्।