काठमाडौँ । दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ।
पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा शुक्रवार सम्पन्न समूह बी को पहिलो खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १०७ रनको जित हासिल गरेको हो। जितका लागि दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २०८ रनमा समेटियो।
अफगानिस्तानका लागि रहमत साहले सर्वाधिक ९० रन जोडे। उनले ९२ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरे।
दक्षिण अफ्रिका लागि कागिसो रबडाले ३, वइन मुल्दार, लुंगि एन्गिडीले समान २ तथा मार्को यानसन र केशब महाराजले समान १ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१५ रन बनाएको थियो।
दक्षिण अफ्रिकाका रिकल्टनले सर्वाधिक १०३ रन जोडे। रिकल्टनले १०६ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे। उनले ओडिआई करियरको पहिलो शतक १०१ बलमा पूरा गरे।
एडेन माक्ररमले ५२ रन जोडे । कप्तान टेम्बा बमुभाले ७६ बलमा ५ चौकाको सहयोगमा ५८ बनाए।
राशी भान डर डुसेनले ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे। डेबिड मिलर १४, टोनी डि जोर्जी ११ रन बनाए भने मार्को यानसन रनको खाता नखोली आउट भए।
अफगानिस्तानका लागि मोहम्मद नाबिले २, फैजल हक फारुकी, नुर अहमद र अजमतुल्लाह उमरजाईले समान १ विकेट लिए।
जितसँगै २ अंकका साथ दक्षिण अफ्रिका समूह बी को शीर्ष स्थानमा छ। पहिलो खेलमै पराजित अफगानिस्तान अंकबिहिन रहेको छ।