काठमाडौं। लुम्बिनी प्रदेशले प्रधानमन्त्री कपको पहिलो खेलमा कोशी प्रदेशलाई २०९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। सिद्धार्थ रंगशाला, सिद्धार्थनगरमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको लुम्बिनी ४८ ओभरमा २०८ रन बनाउँदै अलआउट भयो।
लुम्बिनीका लागि तेस्रो क्रमका ब्याटर आकाश त्रिपाठीले सर्वाधिक ६६ रन बनाए। उनले ९० बलमा ७ चौका र १ छक्का प्रहार गरे। लुम्बिनीका लागि पहिलो विकेटका लागि ओपनर मिर्नाल गुरुङ र मनिष थापाले सुखद सुरुवात गराए। पावरप्लेसम्म बिना कुनै विकेटको क्षती खेलेको लुम्बिनीका लागि ओपनरद्वयले पहिलो विकेटका लागि ५५ रनको अर्धशतकीय साझेदारी गरे।
मिर्नालले ६१ बलमा ५ चौकासहित ४३ रन बनाए। अर्का ओपनर मनिष थापाले ४१ बलमा १६ रन बनाए। नरबहादुर सार्कीले ३२ बलमा ६ चौका र १ छक्कासहित ४५ रन बनाए।
लुम्बिनीका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कोशी प्रदेशका लागि प्रकाश कार्की र दिपेश कँडेलले समान ३–३ विकेट लिए। फिर्दोष अन्सारीले २ विकेट लिए। विपिन महतो र अंकित सुवेदीले समान १–१ विकेट लिए।