काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टाेली त्रिभुवन आर्मी क्बले लगातार दोस्रो जित दर्ता गरेको छ।
सिद्धर्थनगर क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेकाे हाे।
सुदूरपश्चिमले दिएको ११८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। आर्मीका लागि सन्तोष कार्कीले ६३ बलमा १० चौकाको मद्तले अविजित ५५ रनको योगदान गरे। यसैगरी तृतराज दासले ३१ र कप्तान विनोद भण्डारीले अविजित २० रन बनाए।
सुदूरपश्चिमका लागि शेर मल्ल र मिलन बोहराले समान एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४५.३ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको थियो।
जितसँगै आर्मीले दुई खेलमा चार अंक जोडेको छ। पराजित सुदूरपश्चिमको तीन खेलबाट दुई अंक छ। आर्मीले पहिलो खेलमा बागमतीलाई हराएको थियो। कर्णालीसँग हार बेहोरेको सुदूरपश्चिमले गण्डकीलाई पराजित गरेको थियो।