एपीएफ २ विकेटले विजयी

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

बिहीबार दाङको देउखुरी क्रिकेट मैदानमा एपिएफले मधेश प्रदेशविरुद्ध दुई विकेटको जित निकाल्यो ।

जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ । पहिलो पराजय बेहोरेको मधेशको समान खेलबाट दुई अंक छ ।

मधेशले प्रस्तुत गरेको १६९ रनको लक्ष्य एपिएफले ३६.५ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफका लागि सुमित महर्जनले ३५, आसिफ शेखले ३४, कमलसिंह ऐरीले अविजित २८, लोकश बमले १८, अमरसिंह रौटेलाले १६ र कप्तान रोहितकुमार पौडेलले ११ रन बनाए ।

मधेशका लागि कमल गुप्ताले चार, पवन पासवानले दुई तथा रुपेश सिंह र हरिशंकर शाहले समान एक विकेट लिए ।

त्यसअघि टस  जितेर ब्याटिङ रोजेको मधेशले ४०.४ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो ।

मधेशका लागि पवन सराफले ७७ बलमा आछ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ७७ रनको योगदान गरे । यसैगरी कप्तान अनिलकुमार साहले १७ र मायन यादवले ११ तथा रुपेश सिंह र प्रदीप पासवानले समान १० रन बनाए ।

एपिएफका लागि कमलसिंह ऐरीले चार, भुवन कार्की र रोहितकुमार पौडेलले समान दुई र अभिषेक गौतमले एक विकेट लिए ।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको