काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले पराजित गरेको छ।
दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार सम्पन्न खेलमा २४३ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४५.१ ओभरमा २११ रनमै समेटिएपछि सुदूरपश्चिमले जित दर्ता गर्यो।
काेशीका लागि सकिब हकले ६६ बलमा ६२ रन बनाए पनि कोशीको जितमा प्रयाप्ता भएन। अंकित सुवेदी र समिर कार्कीले समान ३८ रन बनाउँदा आशिष भट्टराई ३६ रन बनाए।
यता, सुदूरका लागि सुर्य श्रेष्ठले ३ विकेट लिँदा भोजराज भट्टले २ विकेट हात पार्दा शेर मल्ल, कप्तान नारायण जोशी र राहुल भण्डारीले १ विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमका लागि किरण ठगुन्नाको शतकको प्रहार गरेका थिए।
ठगुन्नाले आक्रामक शतकसहित ११५ रन बनाउँदै सुदूरपश्चिमले २४२ रनको योगफल बनाएकाे थियाे। ठगुन्नाको प्रधानमन्त्री कपको सिजनको यो दोस्रो शतक हो।
टेक रावतले १६, अर्जुन विकले १०, शेर मल्ल र कप्तान नारायण जोशी १४ रन थेपर बाहिरिए।
कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठले ३, कप्तान अंकित सुवेदी र फिरोज अनसारी समान २/२ विकेट लिँदा दीपेश कँडेल र प्रकाश कार्कीले समान १/१ विकेट लिएका थिए।
यो जितपछि सुदूरपश्चिमले तेस्रो जित हासिल गरेको छ। सुदूले ८ खेलमा ६ अंक भएको छ। कोशीले भने ८ खेलमा सातौं हार बेहोरेको छ।