मन्डिखाटार एमेच्योर टेनिस : देव र दीपको जोडीलाई उपाधि

काठमाडाैँ । राजधानीमा जारी मन्डिखाटार दोस्रो एमेच्योर टेनिस टुर्नामेन्टको ३५ वर्षमाथिको डबल्समा देव क्षेत्री र दीप जबराको जोडीले उपाधि जितेको छ।

मन्डिखाटार टेनिस कोर्टमा शुक्रबार भएको फाइनल झिडन्तमा क्षेत्री र राणाको जोडीले भिष्म जंग गुरुङ र सिमान्त गुरुङको जोडीलाई सुपर टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो। ६–३, ४–६ पछि नतिजा १४–१२ ले निकालिएको थियो।

यसैगरी, ४५ वर्ष माथिको डबल्समा महेश श्रेष्ठ र डिगेन्द्र श्रेष्ठको जोडीले उपाधि जितेको छ। उनीहरुले धर्म लामिछाने र गोपी भट्टराईको जोडीलाई सुपर टाइब्रेकरमा पराजित गरेको हो। ६–३, २–६ पछि १०–७ ले बाजी मारेको थियो। ४५ वर्ष माथिको सिंगल्समा सूर्य गिरी र देव क्षेत्रीबीच उपाधि भिडन्त हुने छ।

सेमिफाइनलमा सूर्यले आशिष सिग्देललाई ६–१, ६–२ को स्कोरमा पराजित गरेका थिए भने देवले महेश श्रेष्ठलाई ६–२, ६–४ को स्कोरमा स्तब्ध गर्दै फाइनलमा स्थान बनाएका हुन्।

५५ वर्ष माथिको इभेन्टमा मनोज बिक्रम शाह र सन्जीव श्रेष्ठ तथा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले उपाधि भिडन्त गर्ने भएको छ। सेमिफाइनलमा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले मनोज समशेर जबरा र डिगेन्द्र श्रेष्ठको जोडीलाई ६–३, ६–२ को स्कोरमा स्तब्ध बनायो। यसैगरी मनोज शाह र सन्जीव श्रेष्ठको जोडीले हिमाल शाह र शिव सेढाईको जोडीलाई ६–४, ४–६ पछि सुपर टाइब्रेकरमा १०–३ ले बाजी मारेको थियो।

५५ वर्ष माथिको सिंगल्समा विमल वाइवा र मनोज बिक्रम शाहले उपाधि भिडन्त गर्ने छन्। विमलले उत्तम बोगटीलाई ६–१, ६–१ को सहज स्कोरमा राजित गर्दा मनोजले जीवन घिमिरेलाई ६–०, ६–४ को स्कोरमा स्तब्ध बनाए।

यसैगरी, ६५ वर्ष माथिको डबल्समा कमल थापा र छाम्बा ढुन्डुपको जोडीले उपाधि जितेको छ। उनीहरुले मनोज शमसेर राणा र प्रकाश सिंह बोगटीको जोडीलाई ६–२, ६–३ को स्कोरमा पराजित गर्दै उपाधि जितेको हो।

प्रतियोगिता अन्तर्गत शनिबार विहान ७ बजेदेखि बाँकी इभेन्टका फाइनल खेल हुने छ। विहान ७ बजे ६५ वर्ष माथिको सिंगल्समा उपाधिका लागि कमल थापा र कर्मा घलेबीच प्रतिस्पर्धा हुने छ।

यसैगरी, ५५ वर्ष माथिको सिंगल्समा मनोज शाह र विमल वाइवाको बीचमा प्रतिस्पर्धा हुँदा ४५ वर्ष माथिको सिंगल्समा सूर्य गिरी र देव क्षेत्री उपाधिका लागि आमने सामने हुने छन्। यसैगरी ३५ वर्ष माथिको सिंगल्समा सिमान्त गुरुङ र भिष्म जंग गुरुङबीच उपाधि भिडन्त हुने छ।

यस्तै, ५५ वर्ष माथिको डबल्समा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले उपाधिका लागि मनोज शाह र सन्जीव कुमार श्रेष्ठको जोडीसँग प्रतिस्पर्धा गर्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको