प्रथम मुख्य मन्त्री सिक्किम उसु प्रो नाइट फाइटमा सहभागी हुन मार्सल आट्र्स अर्गनाइजेसन नेपालबाट ५ खेलाडीसहित ८ सदस्यीय टोली मंगलबार सिक्किमको गङटोक प्रस्थान गरेको छ।
बुधबार हुने प्रतियोगितामा विभिन्न ५ तौल समूहमा नेपाल र सिकिम्मका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन्। अप्रिल १६ तारिखमा हुने प्रतियोगितामा नेपालबाट मिलन राईले ५२ केजी, निश्चल तामाङले ५६ केजी, कमल आचार्य ६० ले केजी, मिलन तामाङले ६५ केजी र विनोद श्रेष्ठले ७० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन्।
प्रशिक्षकमा राजिव महर्जन, टिम व्यवस्थापकमा किरणसिंह साउद र निर्णायकमा शंकर भुजेल टोलीसंग सिक्किम जाने छन्। हरेक स्पर्धामा पहिलो हुनेले ५० हजार तथा दोश्रोले २० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाउने छन्।
टोलीलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले बिदाइ गर्नुका साथै टोलीलाई व्यक्तिगत रुपमा ट्रयाकसुट पनि प्रदान गरेको प्रशिक्षक महर्जनले जनाएका छन्।


