एनभीएल अक्सनपछि कर्णाली शिवराजको टोली तयार, मार्कीमा पहलदेखि ब्रान्ड एम्बासडरमा राजेश हमाल

काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) पुरुष फ्रेन्चाइज प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलाडी अक्सनपछि कर्णाली शिवराजले सन्तुलित टोली तयार गरेको छ।

आगामी भदौ ११ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि कर्णालीले मार्की खेलाडीमा राष्ट्रिय टोलीका स्टार स्पाइकर पहल गहतराज छन्। हाल उनी पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरिरहेका छन्।

टोलीको मुख्य प्रशिक्षकमा नेपाल पुलिस क्लबका अनुभवी प्रशिक्षक चन्द्रबहादुर कुँवर रहेका छन्। राष्ट्रिय तथा विभागीय स्तरमा लामो अनुभव बटुलेका कुँवरको नेतृत्वमा कर्णालीले उपाधि दाबेदारी प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

अक्सनमार्फत कर्णालीले ‘ए’ श्रेणीबाट निर्पध्वज बस्नेत, विनोदबहादुर चन्द, सुरज चुनारा र सनोज चौधरीलाई जनही १ लाख २० हजार रुपैयाँमा अनुबन्ध गरेको छ। यस्तै ‘बी’ श्रेणीबाट सन्दीप लुहार, बलराम गुरुङ र सुनिल ठकुल्लालाई जनही ५० हजार रुपैयाँमा टोलीमा भित्र्याएको छ।

टोलीमा अनुबन्ध भएका निर्पध्वज, विनोदबहादुर र सुरज हाल पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिरहेका छन्। अनुभवी सेटर बलराम गुरुङ नेपाल पुलिस क्लबका भरपर्दा खेलाडीका रूपमा परिचित छन्।

खेलाडी अनुबन्धसँगै कर्णालीले आफ्नो ब्रान्ड निर्माणमा पनि विशेष ध्यान दिएको छ। टोलीले महानायक राजेश हमाललाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। साथै, कर्णाली क्षेत्रबाट नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका कामना विष्ट र प्रगति नाथलाई ‘क्विन अफ कर्णाली’ तथा महिला फ्रेन्चाइज भलिबलमा कर्णालीलाई दुई पटक उपाधि दिलाएकी कप्तान सुमित्रा रेग्मीलाई ‘ग्लोरी अफ कर्णाली’को सम्मान दिएको छ।

यसअघि नै टोलीले चर्चित एमएमए फाइटर रविन्द्र ढाँटलाई ‘फेस अफ कर्णाली’का रूपमा सार्वजनिक गरिसकेको छ।

अनुभवी प्रशिक्षक, राष्ट्रिय टोलीका खेलाडी र सन्तुलित खेलाडी संयोजनसहित कर्णाली शिवराज यसपटकको एनभीएलमा उपाधिको बलियो दाबेदार टोलीका रूपमा मैदान उत्रिने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको