काठमाडौं । रौटहट जिल्ला फुटबल संघलाई ३-० को सहज जित निकाल्दै विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लब पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बुधबार बाँकेको नेपालगञ्ज रंगशालामा भएको दोस्रो सेमिफाइनलमा एपिएफलाई जिताउन अनिता केसी, सविता रानामगर र निशा थोकरले गोल गरे।
एपिएफकी अनिता केसी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
उपाधिका लागि एपिएफले अर्को विभागीय टोली नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ। फाइनल बैशाख १२ गते हुनेछ। मंगलबार भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनलमा स्थान बनाएको हो।
एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो।
राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपिएफले महिला लिगको उपाधि पनि जितेको थियो।
खेलकाे ७३औं मिनेटमा अनिताले एपिएफलाई अग्रता दिलाइन्। वैकल्पिक खेलाडी रेनुका हमालले मिलाएको बललाई अनिताले सहज गोल गरेकी हुन्। सात मिनेट पछि नै निशाले टोलीको अग्रता दोब्बर बनाइन्। कप्तान अनिता बस्नेतको कर्नरलाई अनमार्क रहेकी निशाले हेडमार्फत सहजै पोस्टको दिशा दिइन्।
सविताले ९०औं मिनेटमा तेस्रो गोल गरिन्। सरु लिम्बुको शक्तिशाली प्रहार रौटहटकी गोलकिपर उषा थापाले पञ्च गर्दै बचाउन खोजे पनि प्राप्त रिबाउन्डलाई लाई निशाले जाली चुमाइन्।
यसअघि एपिएफले कर्णाली प्रदेशलाई ६-० तथा रौतहटले घरेलु टोली बाँके-११ लाई ३-० ले हराउँदै फाइनल यात्रा तय गरेका थिए।
अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघ सहकार्यमा भइरहेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।


