काठमाडौं । नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घरेलु मैदानको फाइदा उठाउँदै साफ यु–२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्। नेपालले उद्घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल र श्रीलंका रहेको समूह ‘ए’ मा बंगलादेश पनि छ। अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भुटान छन्। ‘टिमको तयारी राम्रो भइरहेको छ। यसपल्ट चर्च ब्वाइज युनाइटेडसँग तीन र आर्मीसँग अभ्यास खेल खेल्न पायौं। जसको कारण टिमको तालमेल पनि राम्रो भएको छ। हाम्रो १२औं खेलाडी भनेको दर्शक हो। घरेलु मैदानमा दर्शको उपस्थितिले नतिजा आफ्नो पक्षमा पार्न सफल हुन्छौं,’ उनले भने।
प्रतियोगिताको तयारीका लागि करिब एक महिना टोलीले समय पाएको थियो। त्यो समय आफूलाई पर्याप्त रहेको उनले बताए। जसको कारण टोलीको आत्मबल बढेको उनको भनाइ थियो। यद्यपि, विपक्षी टोलीलाई कमजोर नमानेको उनले बताए।
‘प्रतियोगितामा सहभागी अन्य टोलीले के कस्तो छ भन्दा पनि सबै टिमले आ–आफ्नो तरिकाबाट प्रशिक्षण गरेको हुन्छ। आफ्नै तरिकाबाट गेम प्लानिङ गरेको हुन्छ। त्यसैले को कस्तो छ त्यसै भन्न सकिन्न। हाम्रो लक्ष्य भनेको यो प्रतियोगिताको ट्रफी घरमै राख्ने हो,’ उनले सुनाए।


