काठमाडौं। एन्फा राष्ट्रिय लिगमा मंगलबार भएका दुई खेलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लब विजयी भएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा मनाङले चित्लाङ एफसीलाई २–० ले पराजित गर्यो। मनाङको यो जारी लिगमा तेस्रो जित हो। १० खेल खेलेको मनाङले १२ अंक जोडेको छ।
चित्लाङको भने यो पाँचौँ हार हो। ९ खेल खेलेको चित्लाङको खातामा ७ अंक मात्रै रहेको छ।
खेलको ४९औँ मिनेटमा शैरभ तामाङले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा सुमित मल्लले अर्को गोल थप्दै मनाङलाई २–० को सहज जित दिलाए।
यस्तै दिनको दोस्रो खेलमा मच्छिन्द्रले नव जनजागृति क्लबलाई ४–१ ले पराजित गर्यो। मच्छिन्द्रको जितमा जोनाथन क्यान्टिलानाले ह्याट्रिक गरे भने अर्को गोल रेजिन सुब्बाले थपे।
यो जितसँगै मच्छिन्द्र ९ खेलबाट २१ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। उता नव जनजागृति भने समान खेलबाट अंकविहीन रहेको छ।


