काठमाडौं । काभा वुमन्स नेसन्स लिगको उपविजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नेपाल सरकारले नगद पुरस्कार प्रदान गर्ने भएको छ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीलाई जनही ३ लाख, प्रशिक्षकलाई २ लाख तथा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई जनही १ लाख २० हजार प्रदान गर्ने भएको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद मन्त्रालयमार्फत पुरस्कारका लागि सिफारिस गरेको थियो।
साउन १७ देखि २३ सम्म त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा सम्पन्न प्रतियोगिताको फाइनलमा भारतसँग ३-२ को सेटमा पराजित हुँदा नेपाल उपविजेता बनेको थियो।


