ला लिगा : भिल्लारियलको जित


काठमाडौं । डेनी पारेजोले इन्जुरी समयको १०औं मिनेटमा गोल गरेपछि भिल्लारियलले सेल्टा भिगोमाथि जित हासिल गरेको छ।

स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति भएको खेलमा भिल्लारियल ४–३ ले विजयी भएको हो।

पारेजोले प्रहार गरेको पेनाल्टी भिगोका इभान भिल्लारले बचाएका थिए। तर, रिबाउन्डलाई गोलमा परिणत गर्दै घरेलु टोलीलाई जित दिलाए।

जितसँगै भिल्लारियल तीन खेलबाट सात अंकका साथ ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको सेल्टा र बार्सिलोनाभन्दा एक अंकले अगाडि छ।

सेल्टाले पहिलो दुई लिग खेल जित्ने दुई टोलीमध्ये एक थियो। १२औं मिनेटमा फितलो गोलकिपिङको फाइदा उठाउँदै बोर्जा इग्लेसियसले भिगोलाई सुरुआती अग्रता दिलाएका थिए। तर, त्यसको तीन मिनेटपछि नै जेरार्ड मोरेनोको कर्नरमा सेर्गी कार्डोनाले गोल गर्दै खेल बराबरीमा ल्याए।

ओस्कार मिन्गुएजाले ३० यार्डबाट फ्रिकिकमा गोल गर्दै सेल्टालाई ३१‍औं मिनेटमा पुनस् अग्रता दिलाएका थिए। त्यसपछि ६०औं मिनेटमा यसै सिजन भिल्लारियल फर्किएका थिएर्नो ब्यारीले खेल २–२ को बराबरीमा ल्याए। त्यसको चार मिनेटपछि जेलसनले आत्मघाती गोल गरेपछि भिल्लारियलले ३–२ को अग्रता बनाएको थियो।

तर, निर्धारित खेल सकिन १० मिनेट बाँकी रहँदा ओस्कार मिङ्ग्वेजाको पासमा गोल गर्दै कार्ल स्टारफेल्टले भिगोलाई ३–३ को बराबरीमा ल्याएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको