
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सम्मान गरेको छ।
एनओसीले बुधबार सम्मान तथामा स्वागत कार्यक्रमको आयोजना गरेको थियो।
सातदोबाटोस्थित भवनमा आयोजित कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुक्त खेलकुद मन्त्री चौधरीलाई सम्मानपत्र प्रदान गरे। सो कार्यक्रममा खेलकुदमन्त्री चौधरीले खेल संघहरुको प्रगति र विकासले आफ्नो कार्यकालको सफलताको मापन हुने बताए।
उनले सम्मान कार्यक्रममा भने संघहरुले राम्रो काम गरेमा, चलायमान भएमा मेरो कार्यकाल पनि सफल हुनेछ। त्यसैले सबै खेल संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीलाई आआफ्नो खेलको विकासमा काम गर्न अनुरोध समेत गरे। आफू मन्त्री बनेको ४० दिन भएको र यस अवधिका खेलकुद ऐन, नियमावलीको अध्ययन गरिरहेको र यसमै टेकेर नेपाली खेलकुदको विकास गर्ने मन्त्री चौधरीको भनाइ छ।
एनओसीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिकबिच समन्वय हुनु आवश्यक भएकोतर्फ औँल्याए। यसैगरी एनओसीका महासयिचव निलेन्द्रराज श्रेष्ठ खेलकुद संघ बलियो हुँदा सो खेलले नतिजा पनि राम्रो निकाल्छ भन्ने उदाहरण कराँते बनेको छ। अन्य संघले पनि कराँतको सिको गर्दै अगाडि बढ्नुपर्छ– उनले थपे।
सो कार्यक्रममा विभिन्न खेल संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीको सहभागिता रहेको थियो। सहभागिले मन्त्री चौधरीको कार्यकालको सफलताको कामना गर्दै शुभकामना दिए।