काठमाडौं । साउदी प्रो लिगमा साविक विजेता अल हिलालले दोस्रो जित हासिल गरेको छ।
बुधबार राति भएको खेलमा हिलालले दमक एफसीमाथि ३–२ को जित हासिल गरेको हो।
एलेक्जान्डर मिट्रोभिकले निर्णायक गोल गर्दै अल हिलालको जित दिलाएका हुन्।
हिलालको दुई खेलबाट ६ अंक छ। दुबै खेल हारेको दमक १५औं स्थानमा छ।
मिट्रोभिकले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता बनाएका हुन् । तर, ४९औं मिनेटमा दमकका फ्रान्कोइ कोमानोले गोल गर्दै बराबरी गरे। हाबिब डिअलोले ५१औं मिनेटमा गोल गरेपछि खेलमा दमकले अग्रता बनायो ।
मोहम्मद अल जुवारीले ७३औं मिनेटमा गोल गरेपछि खेल २ को बराबरीमा आएको थियो । मिट्रोभिकले खेल सकिन ६ मिनेटअघि गोल गर्दै हिलालको जित पक्का गरे।


