भारतीय कप्तान जिनी कोभातले मधेश युनाइटेडबाट खेल्ने


काठमाडौँ । मधेश युनाइटेडले आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) का लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा भारतकी सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ।

यो सँगै मधेश युनाइटेडले ईडब्लुभिएलका तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। मधेश तीन विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली बनेको छ।
मधेशले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई गरिसकेको छ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिग हुन लागेको हो। आगामी असोज १४ देखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशालमा कभर्डहलमा हुने ईडब्लुभिएलका लागि मधेश युनाइटेड व्यग्र प्रतिक्षामा छ।

विदेशी खेलाडी र नेपाली खेलाडीको मिश्रणपछि सन्तुलित टिम बनेको मधेश टिमले उपाधिका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नेछ।

२८ वर्षीय भारतीय सेटर जिनी भारतीय राष्ट्रिय महिला भलिबल टिमकी कप्तान समेत हुन्।

तीन पोजिसनमा विदेशी खेलाडी अनुबन्ध गरेपछि मधेश युनाइटेडको टिम सन्तुलित बनेको छ। केही समयअघि काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा जिनी त्यस टिमको कप्तान थिइन्। जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन्।

जिनीले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेलिसकेकोले उनको अनुभव काम लाग्ने विश्वास छ। जिनीले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाईटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको