
काठमाडौं । नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड शुक्रबार हुँदैछ।
२१औं संस्करणको अवार्ड कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा दिउँसो ३३० बजेबाट सुरु हुनेछ।
२०५२ सालमा स्थापना भएको एनएसजेएफले २०६० सालदेखि उक्त अवार्डलाई निरन्तर रूपमा दिँदै आएको छ।
नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने उदेश्यका साथ यसको सुरुआत भएको हो।
अवार्डमा वर्ष २०८० मा गरेको प्रदर्शनका आधारमा विभिन्न १० विधामा उत्कृष्ट खेलाडी, खेलकर्मी तथा पत्रकारलाई पुरस्कृत गरिनेछ। अवार्डमा उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक विधा समावेश छन्। यसैगरी पिपल्स च्वाइस अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, टिम अफ दी इयर, पारा एथलिट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विधा छन्।
पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन्। अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ।