एनएसआरए इलाइट र नेसनल च्याम्पियन


काठमाडौँ । नेपाली राष्ट्रिय खेलाडीहरु सामेल एनएसआरए इलाइट र एनएसआरए नेसनल टिमले तेस्रो एनएसआरए अन्तर क्लब अन्तर्राष्ट्रिय स्क्वास च्याम्पियन्सीप २०२४ मा उपाधि जितेका छन् । एनएसआरए इलाइट पुरुष र एनएसआरए नेसनल महिला टिममा च्याम्पियन बनेका हुन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको स्क्वास कोर्टमा शनिबार राति भएको फाइनलमा एनएसआरए इलाइटले बङ्गलादेशको बङ्गला टिम एलाई ३–० ले हरायो । एनएसआरए इलाइटका अरहन्तले शहदात हुसेनलाई ११–६, ६–११, ११–६ र ११–२, अमिर ब्लोनले अल अहमदु अपनलाई ११–१, ११–६ र ११–६ तथा दिपक थापाले कर्मल हुसेनलाई ११–९, ८–११, ११–८ र ११–७ ले हराउनुभयो । सो इभेन्टमा बङ्गला बी र एनएसआरए रैजर संयुक्तरुपमा तेस्रो भए ।

यसैगरी महिला टिममा विपना ब्लोन, स्वास्थानी श्रेष्ठ र कृष्णा थापा सम्मिलित एनएसआरए नेसनल महिला टिम च्याम्पियन बन्यो । महिलातर्फ बङ्गलादेशकै टिम उपविजेता बन्यो । एनएसआरए जुनियर र गण्डकीले संयुक्तरुपमा तेस्रो स्थान हासिल गरे ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको