टोखा मेयर कप वादोरियो कराते सुरु, पहिलो दिन सुजित र अप्सनालाई स्वर्ण


काठमाडौं । टोखा भैरवकाद्वय सुजित तामाङ र अप्सना रोका मगरले प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन्।

एकल काताको पुरुषमा सुजित र महिलामा अप्सनाले स्वर्ण जितेका हुन्।

टोखाको बानियाँ टारस्थित काठमाडौं युरो स्कुलमा भएको प्रतियोगिताको पुरुष २५ केजीमुनि अजिमाका अनुरोज थापा मगर, ३० केजीमुनि गोंगबुका सिहान राना, ३५ केजीमुनि मनमैजुका शुलभ राजवाहक र ६० केजीमाथि मनमैजुका सुरज राजवाहकले स्वर्ण जिते।

नेपाल वादोरियो कराते डो संघको प्राविधिक सहयोग तथा नेपाल वादोरियो कराते डो संघ, टोखा डोजोद्वारा आयोजित प्रतियोगिताको महिला २५ केजीमुनि रोयल करातेकी निशुका महर्जन, ३० केजीमुनि गोदावरीकी आइस्टी पहरी, ३५ केजीमुनि गोंगबुकी युनिका अधिकारी, ४० केजीमुनि मनमैजुकी एलिना तामाङ, ४५ केजीमुनि मनमैजुकी प्रतिक्षा तामाङ र ५० केजीमुनि नागार्जुनकी सृजना तामाङले पहिलो स्थान हात पारे।

प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे। सो अवसरमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतको उपस्थिति रहेको थियो।

टोखा नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा २५ टिमका ३ सय ५० खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको वादोरियो कराते डो संघका केन्द्रीय कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले जनाएका छन्। प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको