
काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा छैटौं खेलमा पनि सहज जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपिएफले संकटा क्लबमाथि ३-० को जित हासिल गरेको हो।
एपिएफको जितमा सरु लिम्बु, अनिता केसी र सविता रानामगरले गोल गरे।
यो जितसँगै ६ खेलमा १६ अंक जोडेको एपिएफ शीर्षस्थानमा छ। तेस्रो हार ब्यहोरेको संकटा समान खेलबाट पाँच अंकका साथ सातौं स्थानमा छ।
खेलको १३औं मिनेटमा सरुको गोलमार्फत एपिएफले अग्रता लिएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको एपीएफका लागि अनिताले ५०औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन्।
सविताले ६४औं मिनेटमा गोल गर्दै एपिएफलाई सहज जित दिलाइन्।